काठमाण्डौ । विश्वकै प्रतिष्ठित गणित पुरस्कार मानिने फिल्ड्स मेडल पहिलोपटक दुई चिनियाँ गणितज्ञले एकैपटक जितेका छन्। चिनियाँ मूलका गणितज्ञ हङ वाङ र यु देङले अमेरिकी गणितज्ञ जोन पार्डन र क्यानडाका ज्याकब त्सिमरम्यानसँगै सन् २०२६ को फिल्ड्स मेडल प्राप्त गरेका हुन्।
चारै विजेतालाई संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा आयोजित अन्तर्राष्ट्रिय गणित सम्मेलनको उद्घाटन समारोहमा सम्मान गरिएको हो। फिल्ड्स मेडललाई गणित क्षेत्रमा नोबेल पुरस्कार बराबरको प्रतिष्ठित सम्मानका रूपमा लिइन्छ। यो पुरस्कार हरेक चार वर्षमा ४० वर्षभन्दा कम उमेरका उत्कृष्ट गणितज्ञलाई प्रदान गरिन्छ।
३५ वर्षीया हङ वाङले जापानी गणितज्ञ सोइची काकेयाले सन् १९१७ मा उठाएको ‘काकैया कनजेक्चर’ सम्बन्धी शताब्दी पुरानो समस्याको समाधानमा योगदानका लागि यो सम्मान पाएकी हुन्। उनले तीन आयाममा ज्यामितीय संरचनासम्बन्धी कठिन समस्याको समाधानमा महत्वपूर्ण भूमिका खेलेकी छन्। वाङ फिल्ड्स मेडल पाउने इतिहासकै तेस्रो महिला गणितज्ञ बनेकी छन्।
३७ वर्षीय यु देङले जर्मन गणितज्ञ डेभिड हिल्बर्टले सन् १९०० मा प्रस्तुत गरेको प्रसिद्ध हिल्बर्टको छैटौँ समस्यासँग सम्बन्धित अनुसन्धानका लागि फिल्ड्स मेडल जितेका हुन्। उनको कामले ग्यासजस्ता पदार्थमा रहेका सूक्ष्म कणहरूको गतिविधिबाट ठूलो स्तरको व्यवहार बुझ्ने गणितीय समस्यालाई सम्बोधन गरेको छ।
वाङ र देङ दुवैले चीनको प्रतिष्ठित पेकिङ विश्वविद्यालयबाट आफ्नो शैक्षिक यात्रा सुरु गरेका थिए। वाङले पछि फ्रान्स र अमेरिकामा उच्च अध्ययन गर्दै म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट विद्यावारिधि हासिल गरिन्। उनी हाल अमेरिकाको न्यूयोर्क विश्वविद्यालय र फ्रान्सको इन्स्टिच्युट अफ हाइअर साइन्सेसमा आबद्ध छन्।
देङले प्रिन्सटन विश्वविद्यालयबाट विद्यावारिधि पूरा गरेका छन् र हाल अमेरिकाको युनिभर्सिटी अफ शिकागोमा प्राध्यापकका रूपमा कार्यरत छन्।
यस ऐतिहासिक सफलतापछि चीनमा गणित समुदाय र सामाजिक सञ्जालमा व्यापक उत्साह देखिएको छ। चिनियाँ सञ्चारमाध्यमहरूले यसलाई देशको गणित अनुसन्धान क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्।
फिल्ड्स मेडल सन् १९३६ देखि प्रदान हुँदै आएको छ र अहिलेसम्म थोरै मात्र गणितज्ञले यो सम्मान प्राप्त गरेका छन्। हङ वाङको उपलब्धिले गणित क्षेत्रमा महिलाको प्रतिनिधित्वका दृष्टिले पनि विशेष महत्व राखेको छ।

