काठमाण्डौ । मध्यपूर्व क्षेत्रमा पुनः बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा वृद्धि भएको छ। सोमबार प्रारम्भिक कारोबारमा डब्लूटीआई क्रुडको २.७१ प्रतिशत अर्थात २.३७ डलरले बढेर प्रतिब्यारेल ८९.७३ डलर पुगेको छ । यस्तै भने ब्रेन्ट क्रुडको मूल्य पनि २.४० प्रतिशत अर्थात २.१९ डलरले वृद्धि भई प्रतिब्यारेल ९३.३१ अमेरिकी डलरमा कारोबार भईरहेको छ ।
इजरायलले लेबनानमा आफ्ना सैनिक गतिविधि थप विस्तार गर्न आदेश दिएपछि तेल बजारमा आपूर्ति अवरोधको चिन्ता बढेको छ। इरान समर्थित हिजबुल्लाह समूहसँगको संघर्ष युद्धविराम घोषणापछि पनि पूर्ण रूपमा रोकिएको छैन, जसले क्षेत्रीय अस्थिरता अझ गहिरो बनाएको छ।
विश्लेषकहरूका अनुसार अमेरिका, इजरायल र इरानबीच सम्भावित युद्धविराम विस्तारको आशा कमजोर बन्दै गएपछि ऊर्जा बजारमा अनिश्चितता बढेको छ। विशेषगरी विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा सुरक्षा जोखिम बढेको समाचारले लगानीकर्ताहरूलाई थप चिन्तित बनाएको छ।
बजार विज्ञहरुका अनुसार हर्मुज क्षेत्रमा बारुदी सुरुङसम्बन्धी जोखिम बढेकाले आपूर्ति पुनः सामान्य अवस्थामा फर्किन समय लाग्न सक्छ। कुनै सहमति भए पनि बजारमा तत्काल ठूलो मात्रामा तेल आपूर्ति बढ्ने सम्भावना कम रहेको जनाइएको छ ।
यसैबीच, चीनको उत्पादन क्षेत्रको गतिविधि कमजोर बनेको तथ्यांक सार्वजनिक भएको छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा आर्थिक सुस्तताका संकेत देखिए पनि हाल तेल बजारमा आपूर्तिसम्बन्धी चिन्ताले मागसम्बन्धी कमजोर संकेतलाई ओझेलमा पारेको छ।

