काठमाण्डौ । संघीय संसद् प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत सोमबार बस्ने १८औँ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ। बैठक बिहान ११ बजे बस्ने तय भएको छ।
संसद् सचिवालयका अनुसार बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ हुने प्रमुख कार्यसूची रहेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि बजेटमाथि सामान्य छलफल सुरु हुने र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्रीले दिने कार्यक्रम रहेको छ।
व्यवस्थापन कार्यअन्तर्गत अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव सदनमा राख्नेछन्। साथै उक्त विधेयक संसद्मा प्रस्तुत गरिनेछ। यसैगरी, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ तथा ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसहित ती विधेयकहरू पनि सदनमा पेस गरिने कार्यसूची रहेको छ।
बैठकमा अन्य मन्त्रालयसँग सम्बन्धित विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धिहरू पनि प्रस्तुत गरिनेछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
यस्तै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको ‘श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१)’ तथा ‘बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ सदनमा पेस गर्ने कार्यसूची रहेको छ।

